राष्ट्रियसभा बैठक: समसामयिक विषयमा छलफल

काठमाडौँ । राष्ट्रियसभाको २० औँ अधिवेशन आजदेखि सुरु भएको छ ।
अधिवेशन शुभारम्भका अवसरमा राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेनजी आन्दोलन पछि बदलिएको देशको राजनीतिक परिस्थिति र प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा भएको अन्योलको बीचमा राष्ट्रिय सभामार्फत विशिष्ट कामहरू पुरा गरेको बताउनुभयो ।
अध्यक्ष दाहालले केही कानुनी जटिलता समाधान गर्नुका साथै सरकार, संघीय संसद्, राजनीतिक दल र अन्य पक्षहरूसँग समेत सहमति, सहकार्य र समन्वय गर्दै जनतामा उत्पन्न त्रास र अन्योललाई चिर्दै राष्ट्रियसभाले अभिभावकीय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकल बहुमत प्राप्त भएको र बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा संसद्को भूमिका अझ जिम्मेवार बनेको धारणा राख्नुभयो ।
नयाँ सरकारप्रति जनताले सुशासन, पारदर्शिता, जबाफदेहिता, सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणका कामहरूमा गति आउने अपेक्षा राखेको बताउनुभयो ।
जनताका इच्छा र आकाङ्क्षालाई संवोधन गर्न सरकारलाई नीति, कानुन र निगरानीका माध्यमबाट उचित दिशानिर्देश गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै यस सम्बन्धमा राष्ट्रिय सभाको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले संघीय संसद्का दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको सहसम्बन्ध, सहकार्य र सहअस्तित्व लोकतान्त्रिक संसदीय अभ्यासको आधार भएकाले यी दुई सदनबीच आपसी समन्वय, सम्मान र सहकार्यको वातावरण सुदृढ भएमा संसद्को समग्र प्रभावकारिता अझ बढ्ने बताउनुभयो ।
आगामी दिनमा दुवै सदनबीच रचनात्मक सहकार्य, अनुभव आदानप्रदान तथा समन्वय अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आधुनिक डिजिटल प्रणाली, अभिलेखीकरण, सूचना प्रवाह तथा प्रविधिहरूको प्रयोगले संसदीय कार्य र बैठक सञ्चालनलाई अझ सुदृढ बनाउन सकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्