तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक सुरु, सहकार्य र समन्वयमा जोड

राजनीतिक परिवर्तनबीच राष्ट्रियसभाको भूमिका महत्वपूर्ण :अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेनजी आन्दोलनपछि बदलिएको देशको राजनीतिक परिस्थिति र प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा भएको अवस्थामा एक प्रकारको अन्योलको बिचमा राष्ट्रिय सभामार्फत विशिष्ट कामहरू पुरा गरेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको २०औँ अधिवेशन शुभारम्भका अवसरमा अध्यक्ष दाहालले केही कानुनी जटिलता समाधान गर्नुका साथै सरकार, संघीय संसद्, राजनीतिक दल र अन्य पक्षहरूसँग समेत सहमति, सहकार्य र समन्वय गर्दै जनतामा उत्पन्न त्रास र अन्योललाई चिर्दै राष्ट्रियसभाले अभिभावकीय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

यहाँसम्म आइपुग्दा देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थामा जनताको मतमार्फत व्यक्त भएको जनादेश सर्वोपरि हुने र त्यस जनादेश प्रति संसद् र सम्पूर्ण राज्य संयन्त्र उत्तरदायी रहन आवश्यक रहने बताउनुभयो ।

नयाँ सरकारप्रति जनताले सुशासन, पारदर्शिता, जबाफदेहिता, सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणका कामहरूमा गति आउने अपेक्षा राखेको बताउनुभयो ।

जनताका यस्ता इच्छा र आकाङ्क्षालाई संवोधन गर्न सरकारलाई नीति, कानुन र निगरानीका माध्यमबाट उचित दिशानिर्देश गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै यस सम्बन्धमा राष्ट्रिय सभाको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले संघीय संसद्का दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको सहसम्बन्ध, सहकार्य र सहअस्तित्व लोकतान्त्रिक संसदीय अभ्यासको आधार भएकाले यी दुई सदनबीच आपसी समन्वय, सम्मान र सहकार्यको वातावरण सुदृढ भएमा संसद्को समग्र प्रभावकारिता अझ बढ्ने बताउनुभयो । 

आगामी दिनमा दुवै सदनबीच रचनात्मक सहकार्य, अनुभव आदानप्रदान तथा समन्वय अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले बानेश्वरस्थित संघीय संसद् भवनमा भएको क्षति तथा सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा सम्पन्न नभइसकेको अवस्थामा केही समय चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै सभा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जनताको हित र सुशासनको लक्ष्य प्राप्तिका लागी राजनीतिक मतभेद भन्दा माथी उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।

उहाँले आधुनिक डिजिटल प्रणाली, अभिलेखीकरण, सूचना प्रवाह तथा प्रविधिहरूको प्रयोगले संसदीय कार्य र बैठक सञ्चालनलाई अझ सुदृढ बनाउन सकिने बताउनुभयो ।

यस्तै बैठकको सुरुमा अध्यक्ष दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनुभएको थियो ।

बैठक जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button