चितवनमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता अपनाइँदै
चितवन । चितवन जिल्लामा बर्डफ्लु फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।
भरतपुर महानगरपालिका वडा न–४ का दुईवटा कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि उच्च सतर्कता अपनाइएको हो ।
पशु सेवा कार्यालय भरतपुरका वरिष्ठ मत्स्य अधिकृत डा. प्रभात न्यौपानेका अनुसार भरतपुर–४ का दुई कुखुरा फार्मबाहेक अन्य फार्ममा बर्डफ्लु देखिएको छैन । ‘बर्डफ्लु देखिएको फार्मका कुखुरा सबै नष्ट गरिसकेका छौँ, अन्य ठाउँमा भेटिएको छैन, उच्च सतर्कता अपनाएका छौँ’, डा. न्यौपानेले भन्नुभयो , ‘यही चैत १२ गते भरतपुर–४ का दुईवटा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो ।’
पशु सेवा कार्यालयले बर्डफ्लु देखिएका दुईवटा फार्मका झन्डै १९ हजार कुखुरा नष्ट गरिएको छ । एउटा फार्मबाट १८ हजार लेयर्स कुखुरा र अर्को फार्मबाट ९५० लोकल जातको कुखुरा नष्ट गरिएको डा. न्यौपानेको भनाइ छ । दुई फार्मका सबै कुखुरा नष्ट गरेर फार्मलाई बर्डफ्लुबाट सुरक्षित गरिएको उहाँले बताउनुभयो ।
यतिबेला चितवनमा मात्र होइन अन्य जिल्लाहरूमा पनि बर्डफ्लु भित्रिएको जानकारी आइरहेको हुनाले थप सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘बर्डफ्लुको जोखिम छ, दुई फार्मबाहेक चितवनमा अन्त कतै भेटिएको छैन, तर पनि हामीले उच्च सतर्कता अपनाउनुपर्ने बेला छ ।’ उहाँका अनुसार कार्यालयले स्थानीय पालिकासँग मिलेर अनुगमनदेखि परीक्षणसम्मका कामलाई तीव्रता दिएको छ ।’
चितवनलगायत विभिन्न जिल्लामा बर्डफ्लु देखिएको पुष्टि भएपछि सरकारले सिमानाकामा कडाइ गर्न थालेको छ । विभिन्न नाकाहरूबाट चितवनमा बर्डफ्लु भित्रिन सक्ने जोखिम भएको हुनाले नाकाहरूमा कडाइ गर्न थालिएको हो ।
‘बर्डफ्लु रोकथामका लागि हरेक फार्महरूमा निगरानी गर्नुपर्ने देखिन्छ । शङ्का लाग्नासाथ सम्बन्धित निकायमा खबर गर्न भनेका छौँ, किसानहरूलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ’, वरिष्ठ मत्स्य अधिकृत डा. प्रभात न्यौपानेले भन्नुभयो, ‘परीक्षण नगरी कुनै कुखुरा तथा पक्षी भित्रिनबाट रोक लगाइएको छ, चेकजाँचमा पनि यति बेला कडाइ भइरहेको छ ।’








प्रतिक्रिया राख्नुहोस्