लुम्बिनीमा प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली शुभारम्भ

दाङ। लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ ।
प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको हो । हस्तान्तरणपछि मुख्यमन्त्री आचार्यले उक्त सूचना प्रणालीको आज शुभारम्भ गर्नुभयो ।
प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्याङ्क व्यवस्थापन सूचना प्रणालीले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
तीन तहका सरकारले सम्पादन गरेका कामबारे नागरिक सुसूचित हुन पाउनुपर्ने मान्यताका आधारमा प्रदेश सरकारले पारदर्शिता अभिवृद्धि गर्न विभिन्न उपाय अपनाइरहेको भन्नुहुँदै उहाँले प्रदेशका लागि तथ्याङ्क व्यवस्थापन प्रणाली महत्त्वपूर्ण पुँजी भएको र यसले तीनै तहका सूचना तथा विवरण यस प्रणालीमा समेटिने र प्रदेशका १०९ पालिकालाई यसमा जोडिने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रणालीको नियमित अद्यावधिक र सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताउनुहुँदै यसको प्रभावकारी कार्यान्वयनमा प्रतिष्ठानले अगुवाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले सुशासन प्रवर्द्धन, सेवा प्रवाह र जबाफदेहितालाई केन्द्रमा राखेर सूचना प्रणाली निर्माण गरिएको बताउनुभयो । तथ्यमा आधारित योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन तथा नियमित अनुगमनलाई यस प्रणालीमार्फत सुदृढ बनाइने उहाँले बताउनुभयो । प्र
प्रदेश सूचना प्रणालीमा प्रदेश स्थापना भएदेखि हालसम्मका कार्यसम्पादन र उपलब्धिहरूको तथ्याङ्कगत विश्लेषण समेत यसमा समेटिएको छ । प्रणालीमा कुल १ हजार १ सय ९६ तथ्याङ्क चरहरू समेटेर ३४ वटा क्षेत्र विकास गरिएको छ । यसका अतिरिक्त ४२ चरहरू समावेश गरिएको छुट्टै राष्ट्रिय स्तरको तथ्याङ्क सेट पनि तयार गरिएको छ । ड्यासबोर्डमार्फत सहज र स्पष्ट रूपमा जानकारी प्रस्तुत गर्न १ सय ६४ सूचकहरू विकास गरिएको छ ।
बेलायतको अन्तर्राष्ट्रिय विकास सहयोग, द एसिया फाउन्डेसन र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा प्रदेश योजना आयोगले उक्त प्रणाली तयार पारेको हो । कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीले स्मार्ट गभर्नेसको अवधारणाअनुसार प्रणाली विकास गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्