तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली जिल्ला ताप्लेजुङमा नयाँ शैक्षिकसत्र सुरु हुनअगावै पाठ्यपुस्तक आउन थाल्यो

ताप्लेजुङ । ताप्लेजुङमा नयाँ शैक्षिकसत्र सुरु हुनअगावै पाठ्यपुस्तक आउन थालेको छ । 

जिल्लामा शैक्षिकसत्र सुरु हुनअगावै सामुदायिक विद्यालयको पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आउन थालेको हो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अनुसार हाल कक्षा १ देखि कक्षा ५ सम्मका एक हजार सेट पाठ्यपुस्तक जिल्ला आज आइपुगेको हो । जनक शिक्षा सामग्री केन्द्रबाट खरिद गरी ल्याइएको पाठ्यपुस्तक केही दिन देखि बिक्री वितरण थालिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक पनि केही दिनमा आइपुग्ने समेत भट्टराईले  जानकारी दिनुभयो । अध्यक्ष भट्टराईका अनुसार कक्षा १ को पाठ्यपुस्तक एक सेटको पाँच सय २० रुपैयाँ ८० पैसा कक्षा २ को पाँच सय ५६ रुपैयाँ ८० पैसा,कक्षा ३ को पाँच सय ८० रुपैंया ८ पैसा , कक्षा ४ को ६ सय दुई रुपैयाँ आठ पैसा र कक्षा ५ को ६ सय ३३ रुपैंया ६० पैसा निर्धारण गरिएको जानकारी दिनुभयो ।

नौ स्थानीय तह रहेको ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक खरिदका लागि विद्यालयको विद्यार्थी संख्या अनुसार स्थानीय तहहरुले रकम दिने गरेका छन् । ताप्लेजुङमा ३ सय ४३ सामुदायिक विद्यालयहरू रहेका छन् । जस्मा १ देखि ५ सम्म २ सय ७ वटा, ६ देखि ८ सम्म ६७ वटा र ९ देखि १० सम्म ६९ वटा रहेको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ ।

केही वर्ष अघिसम्म शैक्षिकसत्र सुरु भएको ६ महिनासम्ममा पनि पाठ्यपुस्तक आई नपुग्ने हिमाली जिल्ला ताप्लेजुङमा पछिल्लो समय शैक्षिकसत्र सुरु हुन अगावै पुस्तक विद्यार्थीको हात-हातमा पुग्न थालेसङै अभिभावक हर्षित रहेका छन् ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button