तपाईँ सुन्दै हुनुहुन्छः

ओलीलाई रिहाइको माग गर्दै उदयपुर एमालेले जिल्ला प्रशासनमा बुझायो ज्ञापन पत्र

उदयपुर । नेकपा (एमाले) का पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै एमाले उदयपुरले तत्काल निःशर्त रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाडौँमा ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सचिवालयको बैठकको निर्णय अनुसार आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा मार्फत प्रधानमन्त्रीलाई केपी ओलीको रिहाइको माग राख्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत नेकपा एमाले उदयपुरले पनि जिल्ला प्रशासन पुगेर ज्ञापन पत्र बुझाएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमार्फत बुझाइएको ज्ञापन पत्रमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा गरिएको पक्राउलाई प्रतिशोधपूर्ण कदम तथा सुरक्षा निकायमाथिको हस्तक्षेप भएको आरोप लगाइएको छ। आयोग गठन प्रक्रिया नै पक्षपातपूर्ण भएको भन्दै प्रतिवेदनको निष्पक्षतामाथि प्रश्न उठाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

एमाले उदयपुरले भदौ २४ गते भएका सरकारी तथा निजी सम्पत्तिमाथिको तोडफोड घटनाका दोषीबारे आयोग मौन बसेको भन्दै प्रतिवेदन एकपक्षीय रहेको टिप्पणी गरेको छ। साथै नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकबाटै लोकतान्त्रिक पक्षधर नेताहरूलाई गैर न्यायिक थुनामा राखिएको भन्दै सरकारको कदम राजनीतिक प्रतिशोधपूर्ण भएको दाबी गरिएको छ ।

ज्ञापन पत्रमार्फत पक्राउ परेका नेता तथा आन्दोलनकारीको तत्काल रिहाइ, घाइतेको उपचार व्यवस्था र आन्दोलनमाथिको दमन रोक्न माग गरिएको छ। अन्यथा न्याय प्रेमी जनताको साथमा चरणबद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ। कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button