नवलपरासीको सीमा नाकाबाट १८ लाख बराबरको हुक्का फ्लेभर बरामद

नवलपरासी I नवलपरासीबाट सशस्त्र प्रहरीले झन्डै १८ लाख बराबरको हुक्का फ्लेभर बरामद गरेको छ ।
जिल्लाको झोलनीपुर सीमावर्ती नाकाबाट २४ कार्टुन हुक्का फ्लेभर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका निमित्त प्रमुख डिएसपी प्रमोद खड्काले जानकारी दिनुभयो ।
गएराति गस्तीको क्रममा सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित बलिनगरको तरेनीबाट ५ हजार ९५० पिस हुक्का फ्लेभर बरामद भएको हो । नेपाली बजारमा यस्ता फ्लेभरको मूल्य प्रति पिस तीन सय बढी पर्ने गरेको बताइएको छ । तर सशस्त्र प्रहरीले भने भारतीय बजार मूल्य प्रति पिस दुई सय नेपाली कायम गरेको छ । सोहीअनुसार कुल ११ लाख ९० हजार कायम गरेर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डिएसपी प्रमोद खड्काले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
ठूलो मात्रामा हुक्का फ्लेभर बरामद भएपनि कारोबारमा संलग्न भने फरार रहेको बताइएको छ। रातिको समयमा गस्तीलाई देखेर कारोबारमा संलग्नहरू फरार भएको र उनीहरूले प्रयोग गरेको तीन वटा भारतीय नम्बरका मोटरसाइकल भने नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्