पैसा लेनदेनको विषयमा आमाछोरीमाथि निर्घात कुटपिट

रौतहट । रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा पैसा लेनदेनको विषयलाई लिएर आमा–छोरीमाथि कुटपिट भएको छ ।
स्थानीय ४५ वर्षीया भागमणी देवी र उहाँकी १० वर्षीया छोरी रबिता कुमारीमाथि सोही ठाउँका ३५ वर्षीय छोटेलाल राय यादवले आक्रमण गरेको आरोप छ । उहाँले केही महिनाअघि भागमणीसँग एक लाख २० हजार रुपैयाँ सापटी लिएको र आइतबार यादवलाई दिनुपर्ने १० हजार रुपैयाँ ती महिलाको ई–सेवामा आएपछि उहाँ रकम लिन घर पुगेका थिए । सो क्रममा भागमणीले आफूले पाउनुपर्ने रकम कटाएर बाँकी एक लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि विवाद भएको थियो ।
विवाद चर्किँदै जाँदा यादवले बाँसको लाठी प्रयोग गरी आमा–छोरीमाथि निर्घात कुटपिट गरेको आरोप छ । कुटाइबाट छोरी रबिताको देब्रे हात भाँचिएको छ भने भागमणी देवीको हात लगायत शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
घटनाका क्रममा आक्रमणकारीले भैँसी र बाख्रालाई समेत कुटपिट गरी घाइते बनाएको स्थानीयले बताएका छन् ।
घाइते दुवैलाई उपचारका लागि कटहरिया बजारस्थित एक निजी अस्पतालमा लगिएको छ । हाल उहाँहरूको प्लास्टरसहित उपचार भइरहेको छ ।
यसैबीच पीडित पक्षले घटनालाई मिलापत्रमा टुङ्ग्याउन भन्दै स्थानीय तहका जनप्रतिनिधिबाट दबाब आएको आरोप लगाएका छन् ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाबारे जानकारी आएको र आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्