पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन सम्पन्न
पोखरा । सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ । पोखरा १४ मा रहेको हिमालयन गल्फ कोर्समा शनिबार भएको खेलमा १ सय ३९ अङ्कसहित लामाको समूह विजेता भएको हो ।

३४ अंक बनाउँदा एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ३९, गीता गुरुङले ३५ र टेण्डी शेर्पाले ३१ अंक जोड्नुभएको थियो । प्रो रवि खड्काको टिम १ सय २२ अङ्कसहित दोस्रो भएको छ । रविले ३० अंक बनाउँदा सोम गुरुङ र फुर्साङ लामाले समान ३१ तथा श्याम तामाङले ३० अङ्कको योगदान दिनुभयो । प्रो भुवन नगरकोटीको टिम १ सय १८ अंक सहित तेस्रो भएको छ । भुवनसँगै एमेच्योर खेलाडीहरू सुजन थापा र रञ्जन थापाले समान ३० तथा कमल सुबेदीले २८ अंक बनाउनुभयो ।
महिलातर्फ उत्कृष्ट स्कोर गीता गुरुङले निकाल्नुभयो । उहाँले ३५ अंक जोड्नुभयो । प्रतियोगितामा लङ्गेस्ट ड्राइभको उपाधि जय न्युगेन्ट र क्लोजेस्ट टु दी पिनको उपाधि सुबोध थापाले हात पार्नुभयो । शुक्रबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जित्नुभएको हो । उहाँले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल हुनुभयो । सञ्जय लामा दोस्रो र एमेच्योर राहुल विश्वकर्मा तेस्रो हुनुभयो ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक खेलाडीहरूले कुल १० लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । पहिलो भएका भुवनले १ लाख ७० हजार, दोस्रो भएका सञ्जयले १ लाख २५ हजार र प्रोतर्फ तेस्रो भएका शुक्र बहादुर राईले नगद १ लाख प्राप्त गर्नुभयो । प्रो एमका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट र कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष भक्त राज गुरुङले पुरस्कार वितरण गर्नु भएको थियो । प्रो एममा ७५ जना एमेच्योर र १५ जना प्रोफेसनल गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्