डिजिटल युगमा ओझेलिँदै पुस्तक पढ्ने बानी
उदयपुर । डिजिटल युगको तीव्र विस्तारसँगै युवापुस्ताको ध्यान सामाजिक सञ्जालतर्फ केन्द्रित भइरहेका बेला उदयपुरको गाईघाटस्थित संगम सामुदायिक पुस्तकालयले पठन संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि रूपान्तरणको आवश्यकता औँल्याएको छ । “हाम्रो पुस्तकालय: हाम्रो भविष्य” भन्ने नारासहित शनिबार सम्पन्न पुस्तकालयको २२औँ साधारण सभाले बदलिँदो समयसँगै पुस्तकालयको भूमिका पुनः परिभाषित गर्नुपर्ने सन्देश दिएको छ ।

साधारण सभामा सहभागीहरूले पछिल्लो समय डिजिटल मिडिया र सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पुस्तकालयप्रतिको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनीहरूको भनाइमा सामाजिक सञ्जालले सूचना त छिटो दिएको छ, तर गहिरो अध्ययन र चिन्तनशील पठन संस्कृतिमा भने चुनौती थपिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कुमार शर्मा आचार्यले सामाजिक सञ्जालको बढ्दो प्रभावले समाजमा सकारात्मकसँगै नकारात्मक असर पनि पारिरहेको उल्लेख गर्दै यसको जिम्मेवार प्रयोग र प्रभावकारी नीति आवश्यक रहेको बताउनुभयो । उहाँले पठन संस्कृतिलाई जोगाउन परिवार, विद्यालय, समुदाय र स्थानीय तहको संयुक्त पहल अपरिहार्य रहेको धारणा राख्नुभयो ।
सहभागीहरूले पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोडेर डिजिटल सेवा, अध्ययनमैत्री वातावरण र युवामुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले पुस्तकालयलाई पुनः समुदायको बौद्धिक केन्द्रका रूपमा स्थापित गर्न स्थानीय तह र सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा पुस्तकालयका पदाधिकारी, स्थानीय बौद्धिक व्यक्तित्व, विद्यार्थी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । साधारण सभाले पठन संस्कृतिको संरक्षणसँगै पुस्तकालयलाई समयअनुसार रूपान्तरण गर्ने साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्