तपाईँ सुन्दै हुनुहुन्छः

वन डढेलो व्यवस्थापन सप्ताह २०८२ उदयपुरमा विविध कार्यक्रमसहित सम्पन्न

उदयपुर I “वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नाराका साथ उदयपुरमा वन डढेलो व्यवस्थापन सप्ताह २०८२ विविध जनचेतनामूलक कार्यक्रमका साथ सम्पन्न भएको छ । 

डिभिजन वन कार्यालय उदयपुरको आयोजनामा गत चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको सप्ताह जिल्लाभर वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइएको हो।

सप्ताहभर वन डढेलोको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउन सरोकारवाला निकायहरुबीच समन्वयात्मक अन्तरक्रिया, प्रचारप्रसार तथा समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ। वन क्षेत्रमा हुने सानो लापरवाहीले पनि ठूलो क्षति निम्त्याउन सक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन समेत विशेष आग्रह गरिएको थियो।

कार्यक्रममार्फत “वन क्षेत्रमा चुरोट, बिडी सेवन गरी जथाभाबी नफालौँ, सुख्खा सिजनभरि सलाई, बिडी, चुरोट र राँको बाल्ने कार्यमा रोक लगाऔँ” भन्ने सन्देश व्यापक रूपमा प्रवाह गरिएको थियो। साथै, बस्ती र वन क्षेत्रको सिमानामा समयमै सरसफाइ गरी सुरक्षात्मक घेरा निर्माण गर्न तथा नियमित सफाइ कायम राख्न स्थानीय समुदायलाई सचेत गराइएको थियो।

वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण अभियानलाई प्राथमिकतामा राख्दै “रूख रोपौँ, वन जोगाऔँ” अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । सप्ताहका अवसरमा “सावधानी अपनाऔँ, सबै मिली वन डढेलो रोकौँ” भन्ने सन्देशसहित स्थानीय तह, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूह तथा नागरिकबीच सहकार्य र समन्वय सुदृढ गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।

डिभिजन वन कार्यालय उदयपुरले वन डढेलो नियन्त्रणमा प्रभावकारी उपलब्धि हासिल गर्न तीनै तहका सरकार र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button