बिरामी सवार एम्बुलेन्स तोडफोड, चालकमाथि आक्रमण
सल्यान । बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्समाथि सुर्खेतमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेको छ भने चालकलाई कुटपिट गरिएको छ।
रुकुम पश्चिमको चौरजहारीबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ भ ०१३८ नम्बरको एम्बुलेन्समाथि शनिबार राति आक्रमण भएको हो। उक्त एम्बुलेन्स सल्यानको कुमाख गाउँपालिकाको हो।
एम्बुलेन्स चालक बसन्त शर्माका अनुसार सुर्खेतको छिन्चु नजिक पर्ने रामघाटमा राति करिब १० बजेतिर ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर एक्कासी आक्रमण गरेको थियो। “सडकमा अवरोध राखेर गाडी रोकाइयो र मलाई गाडीबाट तानेर कुटपिट गरियो,” उहाँले बताउनुभयाे।
एम्बुलेन्समा त्यसबेला एक जना बिरामी र एक जना कुरुवा हुनुहुन्थ्याे । ज्यानको जोखिम भएपछि आफू भाग्न बाध्य भएको र त्यसपछि आक्रमणकारीहरूले एम्बुलेन्समा तोडफोड गरेको चालक शर्माले जानकारी दिनुभयाे।
घटनापछि प्रहरीलाई खबर गरिएको र करिब आधा घण्टामा प्रहरी घटनास्थल पुगे पनि आक्रमणकारीहरू भने फरार भइसकेका थिए।
तोडफोड भएको अवस्थामा पनि एम्बुलेन्सले बिरामीलाई सोही रात नेपालगञ्ज पुर्याउन सफल भएको चालक शर्माले बताउनुभयाे। उहाँले दोषीमाथि कारबाहीको माग गर्दै भन्नुभयाे, “विरामीको सेवामा खटिने एम्बुलेन्समाथि आक्रमण हुनु अत्यन्त दुःखद हो।”








प्रतिक्रिया राख्नुहोस्