बाँकेका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित
बाँके । बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका आसपासका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। करिब तीन महिनामै उत्पादन हुने र बजारमा राम्रो मूल्य पाइने भएकाले किसानहरूले यसलाई नगदे बालीका रूपमा रोज्न थालेका हुन्।

बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेतले दुई वर्षअघि पाँच कठ्ठा जमिनमा करिब ९ हजार स्ट्रबेरी बिरुवा रोपेर खेती सुरु गर्नुभयो। करिब ६ लाख रुपैयाँ लगानीमा उहाँले २५ क्विन्टल उत्पादन गरी ९ लाख रुपैयाँ आम्दानी गर्नुभयो। लगाएको करिब तीन महिनामै फल तयार हुने भएकाले यो खेती उपयुक्त भएको उहाँ बताउनुहुन्छ।

यस वर्ष बस्नेतले आफ्नै घरमा करिब ४ हजार बिरुवा उत्पादन गर्नुभएको छ। करिब ३ लाख रुपैयाँ लगानीमा २० क्विन्टल उत्पादन गरी १३ लाख रुपैयाँसम्म आम्दानी हुनेमा उहाँ ढुक्क देखिनुहुन्छ। उहाँकी श्रीमती शारदा बस्नेतका अनुसार यही व्यवसायबाट पाँच जनाको परिवारको गुजारा चलिरहेको छ। स्ट्रबेरी खेतीले पहिलेभन्दा आर्थिक अवस्था सुधार भएको भन्दै परिवार यस व्यवसायबाट सन्तुष्टि देखिन्छ।

स्ट्रबेरी खेतीप्रति सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको छ। तराईमै उत्पादन भइरहेको खबर सामाजिक सञ्जालमा फैलिएपछि खेतमै पुगेर फल किन्ने र टिकटक बनाउनेको संख्या समेत बढेको छ। राप्ती सोनारीका प्रेम पुन मगर सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि अर्ग्यानिक स्ट्रबेरी किन्न खेतमै पुगेको बताउनुहुन्छ। त्यस्तै, कोहलपुरकी निना चन्द पनि आफ्नै क्षेत्रमा उत्पादन भएको अर्ग्यानिक फल किन्न खेतमै पुगेकी थिइन्।
किसान र उपभोक्ताको बढ्दो आकर्षणसँगै स्ट्रबेरी खेतीले राम्रो सम्भावना देखाए पनि सरकारी सहयोग अभाव चुनौतीका रूपमा देखिएको छ। उत्पादनदेखि बजार व्यवस्थापनसम्म प्रभावकारी नीति र सहुलियत उपलब्ध गराउन सके युवाको रोजगारी समस्या समाधानमा समेत टेवा पुग्ने देखिन्छ। तर पर्याप्त नीति अभावका कारण खेतीयोग्य जमिन बैङ्कमा धितो राख्ने प्रवृत्ति बढ्दै गएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्