तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी लागेसँगै हावाहुरी र वन डढेलो सुरु 

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै हरेक वर्ष मुलुकभर हावाहुरी र वन डढेलोका कारण जनधनको ठूलो क्षति हुने गरेको छ । 

यसपटक पनि केही दिन अघि मात्रै हावाहुरीका कारण रातको समयमा रुख ढल्दा मानिसको मृत्यु भएको र वन डढेलोका घटना पनि सुरु भइसकेकाले सचेत रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

गर्मी बढ्दै जाँदा मुलुकभर हावाहुरीसँगै डढेलो लाग्न सुरु भएको छ । वनमा सुकेका स्याउला, सोत्तर, दाउरा प्रशस्त जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ्दै गएको हो । गाउँघर छोडेर मानिसहरू शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न कारणले सहर पस्नुपर्ने बाध्यताले घाँस दाउराको प्रयोगमा कमी आएसँगै वनजंगलभित्र सुकेका पात पतिङ्गर र घाँस दाउराको थुप्रो बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेको सरोकारवाला बताउँछन् ।

यसरी हुन सक्ने जोखिमबाट बच्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक पूर्व तयारीका कामहरू गरिरहेको छ ।

त्यसका लागि सचेतनामूलक श्रव्यदृष्य सामग्रीहरु निर्माण गरी केन्द्रदेखि स्थानीय तहसम्म पु¥याउने, विभिन्न आम सञ्चारका माध्यमबाट प्रसारण गर्ने र सामाजिक सञ्जालमा राखेर सूचना दिने, सरोकारवाला सबै निकायलाई यससम्वन्धी सचेतना फैलाउन सहजीकरण गर्ने लगायतका काम गरिरहेको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले जानकारी दिनुभयो ।

यो वर्ष पनि हावाहुरी र वन डढेलोले क्षति पुर्‍याउन सुरु गरिसकेकाले सचेत रहन प्राधिकरणले आग्रह गरेको छ । हावाहुरी र वन डढेलोका लागि छुट्टै सामग्रीहरु व्यवस्थापन गर्ने नभई अन्य विपद्मा प्रयोग हुने दमकल लगायतका सामग्रीहरु नै यसमा पनि प्रयोग हुने र आवश्यक परेमा थप सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।

विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा विभिन्न तालिमको व्यवस्था गर्ने, सचेतनाका कार्यक्रमहरू गर्ने र स्थानीय तहले समुदायस्तरमा सचेतना फैलाउने काम भइरहेको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी महतले जामनकारी दिनुभयो ।

२०७५ सालदेखि हालसम्म डढेलोका दुई हजार १ सय ५९ घटना भएका छन् भने ती घटनामा परी ३० जनाको मृत्यु भएको वन तथा भूसंरक्षण विभागको तथ्याङ्क छ । विभागका अनुसार डढेलोमा परी ५५ जना सख्त घाइते भएका छन् भने करिब सात सय परिवार डढेलोका कारण विस्थापित तथा प्रभावित भएका छन् ।

विभागको तथ्याङ्क अनुसार सो अवधिमा १ सय ३३ वटा घर पूर्ण रूपले जलेर नष्ट हुँदा लाखौँ धन सम्पत्तिमा क्षति पुगेको छ । सो अवधिमा डढेलोका कारण मानवीय क्षतिबाहेक ९१ करोड ७९ लाख २७ हजार मूल्य बराबरको क्षति भएको विभागले जनाएको छ । यो अवधिमा डढेलोले एक लाख ५१ हजार ४ सय ३९ हेक्टर वनक्षेत्र नष्ट भएको तथ्याङ्कमा उल्लेख छ ।

वन तथा भूसंरक्षण विभागले २०८२ साल वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको डढेलोको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा यो अवधिमा देशभरि डढेलोका २ सय ८२ वटा घटना भएको उल्लेख गरिएको छ । 

सरकारले हरेक वर्ष चैत १ गतेदेखि विभिन्न कार्यक्रमका साथ डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ । यसवर्ष पनि प्रदेश सरकार, स्थानीय तह र समुदायलाई एकीकृत र प्रभावकारी रूपमा डढेलो लाग्न नदिन र लागेमा पनि तत्काल नियन्त्रणका उपाय अवलम्बन गरी डढेलो व्यवस्थापन सप्ताह मनाउने कार्यक्रम रहेको वन तथा वातावरण मन्त्रालयलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button