तपाईँ सुन्दै हुनुहुन्छः

ढिस्कोले पुरिदा रोल्पामा एक महिलाको मृत्यु, तीन घाइते

रोल्पा । रोल्पामा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रुन्टिगढी गाउँपालिका–७ मोति खन्ने डाँडा, खास्किबनमा शनिबार करिब दिउँसो १२ बजेतिर स्थानीय महिलाहरू घर लिप्ने माटो  खनिरहेको अवस्थामा अचानक माटोको ढिस्का खसेर पुरिँदा स्थानीय ४९ वर्षीया निर्मला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटनाको खबर करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय होलेरीमा प्राप्त भएपछि प्रहरी  घटनास्थलमा पुगेको थियो । प्रहरीसहितको टोलीले माटो पन्छाएर निकाल्दा बुढाथोकीको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको हो ।

घर लिप्ने माटो लिन छिमेकीसहित सात जना गएका मध्ये तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन  र ४९ वर्षीया पार्वती पुन मगर  रहनुभएको छ ।

घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button