कोशी प्रदेशमा बढ्दो यौन हिंसा: बलात्कारका घटनाबाट बालिका पीडित

कोशी । कोशी प्रदेशमा महिला तथा किशोरीमाथि हुने यौन हिंसाका घटनाहरू पछिल्ला महिनाहरूमा चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। ओरेक मोरङले पछिल्लो त्रैमासिक अवधिमा सार्वजनिक गरिएको तथ्याङ्कले प्रदेशभरि महिलामाथि हुने हिंसाका विभिन्न घटनामध्ये यौन हिंसा उल्लेखनीय रूपमा देखिएको तथ्य उजागर गरेको हो ।
सार्वजनिक तथ्याङ्कअनुसार प्रदेशभर दर्ता भएका कुल १ सय १६ वटा लैङ्गिक हिंसाका घटनामध्ये २६ वटा घटना यौन हिंसासँग सम्बन्धित रहेका छन्। यसले प्रदेशमा महिला तथा किशोरीहरू अझै पनि असुरक्षित अवस्थामा रहेको सङ्केत गरेको छ।
यौन हिंसाका घटनामध्ये बलात्कारका घटना सबैभन्दा बढी रहेका छन्। अभिलेख भएका २६ घटनामध्ये १७ वटा अर्थात् ६५।४ प्रतिशत घटना बलात्कारका हुन्। त्यस्तै ६ वटा अर्थात् २३.१ प्रतिशत घटना यौन दुर्व्यवहारका रहेका छन्। बाँकी घटनामा सामूहिक बलात्कार, वैवाहिक बलात्कार तथा बलात्कारको प्रयास जस्ता गम्भीर प्रकृतिका अपराधसमेत समावेश छन्।
उमेरगत विश्लेषणले यौन हिंसाको सबैभन्दा ठूलो जोखिम बालिकामा रहेको देखाएको छ। तथ्याङ्कअनुसार कुल घटनामध्ये आधाभन्दा बढी पीडित १८ वर्ष मुनिका बालिका रहेका छन्। त्यसपछि १८ देखि २५ वर्ष उमेर समूहका युवतीहरू दोस्रो स्थानमा छन्। अन्य उमेर समूहका महिलाहरू पनि यौन हिंसाबाट प्रभावित भएको तथ्याङ्कले देखाएको छ, जसले यस्तो हिंसा कुनै निश्चित उमेर समूहमा मात्र सीमित नरहेको स्पष्ट पार्छ।
जातिगत अवस्थाको अध्ययनले यौन हिंसा कुनै एक समुदायमा मात्र सीमित नभएको देखाएको छ। तथ्याङ्कअनुसार पहाडी ब्राह्मण/क्षेत्री समुदायबाट सबैभन्दा बढी घटना अभिलेख भएका छन्। त्यस्तै तराई दलित, मधेसी, पहाडी जनजाति, तराई जनजाति तथा मुस्लिम समुदायका महिलाहरू पनि यस्ता घटनाबाट प्रभावित भएका छन्।
पीडितहरूको शैक्षिक अवस्थाले शिक्षित महिलासमेत यौन हिंसाबाट सुरक्षित नरहेको तथ्य उजागर गरेको छ। अधिकांश पीडितले आधारभूत वा माध्यमिक तहसम्म शिक्षा हासिल गरेका छन् भने केहीले स्नातक वा सोभन्दा माथिको शिक्षा हासिल गरेका महिलाहरू पनि रहेका छन्। यसले शिक्षा मात्रै महिलामाथिको हिंसा रोक्न पर्याप्त नभएको सङ्केत गर्छ।
विश्लेषकहरूका अनुसार सार्वजनिक भएका घटनाभन्दा यौन हिंसाका वास्तविक घटना अझ बढी हुन सक्ने अनुमान गरिएको छ। समाजमा पीडितलाई नै दोष दिने सोच, परिवारको दबाब, प्रहरीमा उजुरी दिन ढिलाइ हुने प्रवृत्ति तथा प्रमाण सङ्कलनमा हुने कमजोरीका कारण धेरै घटना बाहिर आउन नसक्ने अवस्था रहेको बताइन्छ।
यस अवस्थाले महिला तथा किशोरीको सुरक्षा, न्याय प्रणालीको प्रभावकारिता तथा सामाजिक चेतनाको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।








प्रतिक्रिया राख्नुहोस्