तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली सुन्दरता बोकेको रानिसैन सुदूरपश्चिमकै सम्भावित पर्यटकीय केन्द्र

बाजुरा । बाजुराको हिमाली गाउँपालिका अन्तर्गत पर्ने ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रानिसैन क्षेत्र पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। धार्मिक, जैविक तथा प्राकृतिक विविधताले भरिपूर्ण भए पनि वर्षौँसम्म पूर्वाधारको अभाव र पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको यो क्षेत्र अहिले पुनः चर्चामा आउन थालेको छ।

हिउँले ढाकिएका हिमालको मनोरम दृश्य, स्वच्छ तालतलैया, दुर्लभ औषधीय जडीबुटी, फराकिलो चरन क्षेत्र तथा विभिन्न प्रजातिका रंगीचंगी फूलहरूले सुसज्जित रानिसैन क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा स्थानीयस्तरमा भएको प्रचारप्रसारका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या क्रमशः बढ्दै गएको हो।

बिच्छ्या क्षेत्रका स्थानीय अर्जुन रोकायाका अनुसार अहिले महिनामा करिब एक दर्जनभन्दा बढी पर्यटक रानिसैन क्षेत्र अवलोकन गर्न आउने गरेका छन्। “पहिले यहाँको बारेमा धेरैलाई जानकारी थिएन, तर अहिले विस्तारै चर्चामा आउँदै जाँदा घुम्न आउनेको संख्या पनि बढ्दै गएको छ,” रोकायाले बताए।

स्थानीयवासीका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन गुरुयोजना निर्माण, पर्यटकीय पूर्वाधार विकास, संरक्षण क्षेत्र घोषणा तथा प्रभावकारी प्रचारप्रसार गर्न सके रानिसैन क्षेत्र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ।

पर्यटन प्रवर्द्धनका माध्यमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि बढेर स्थानीयको जीवनस्तरमा सुधार आउने विश्वास स्थानीय उमेश रोकायाले व्यक्त गरे। हिमाली गाउँपालिकाले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको रानिसैन क्षेत्रको पर्यटन विकासका लागि योजना निर्माण तथा सर्वपक्षीय छलफल जारी रहेको जनाएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रानिसैन क्षेत्र अपि–साइपाल हिमालको बेसक्याम्पका रूपमा समेत परिचित रहेको छ। उचित संरक्षण, व्यवस्थापन र पूर्वाधार विकास हुन सके रानिसैन भविष्यमा सुदूरपश्चिमकै आकर्षक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने स्थानीयको अपेक्षा रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button