ताप्लेजुङमा ५१ प्रतिशत बढी मत खस्यो, मतपेटिका सङ्कलन हुँदै
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ५१.४५ प्रतिशत मत खसेको छ ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाता ९० हजार ३ सय २७ जना मध्ये ४६ हजार चार सय ७४ मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले जानकारी दिनुभयो ।

मतपेटिका सङ्कलन गर्न थालिएको छ । भौगोलिक जटिलता रहेको जिल्लाका पैदल मार्गका सबै मतदान केन्द्रहरूबाट मतपेटिका सदरमुकाम ल्याउन थालिएको समेत प्रजिअ सेढाइले जानकारी दिनुभयो ।
ताप्लेजुङको चार हिमाली मतदान केन्द्रको मतपेटिका शुक्रबार हेलिकप्टरबाट सङ्कलन गरिने भएको छ । आज जिल्लामा हेलिकप्टर आएपनि खराब मौसमका कारण मतपेटिका सङ्कलन गर्न समस्या भएको समेत प्रजिअ सेढाइको भनाई छ ।
जिल्लाको उच्च हिमाली बस्तीहरूको ओलाङचुङगोला, याङमा, घुस्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरबाट सङ्कलन गर्न लागिएको हो ।








प्रतिक्रिया राख्नुहोस्