पर्सामा बिहान ११ बजे सम्म २० प्रतिशत मत खस्यो
'जिल्लाका चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै'
वीरगञ्ज। पर्सा जिल्लामा अहिले बिहान ११ बजे सम्ममा २० प्रतिशत मतदान भइसकेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाका ४ निर्वाचन क्षेत्रमा १ सय ६७ मतदानस्थलमा रहेका ४ सय ४१ मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको र ११ बजेसम्म २० प्रतिशत मत खसीसकेको बताउनुभयो ।

जिल्लाका मतदान स्थलहरूबाट खसेको मतको परिणाम सुरक्षाकर्मी मार्फत प्रत्येक घण्टामा स्थानीय प्रशासनले लिने व्यवस्था समेत मिलाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।
पर्सा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदाताहरूको समेत उल्लेख्य रुपमा सहभागिता रहेको छ ।
आज सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सामा ३ लाख ५२ हजार ४ सय ८४ जना मतदाता रहेका छन् । पर्सामा ४ निर्वाचन क्षेत्र बाट राजनीतिक दल र स्वतन्त्र गरी ९७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा ८९ हजार ६ सय ३८ जना मतदाताले मतदान गर्नेछन् । जसमा ५० हजार ४ सय ६ जना पुरुष र ३९ हजार २ सय ३० जना महिला र अन्य २ जना मतदाता रहेका छन् ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा ९५ हजार १ सय २० जना मतदाता रहेका छन् । जसमा ५३ हजार ७ सय १७ जना पुरुष, ४१ हजार ४ सय महिला र अन्य ३ जना मतदाता रहेका छन् ।
पर्साकै क्षेत्र नम्बर ३ मा ९६ हजार ५ सय ४२ जना मतदाता रहेका छन् । जसमा ५४ हजार ८ सय ९४ जना पुरुष, ४१ हजार ६ सय ४४ जना महिला र अन्य ४ जना रहेका छन् ।
पर्साको क्षेत्र नम्बर ४ मा ९५ हजार २ सय १३ जना मतदाता रहेका छन् । जसमा ५३ हजार ६० जना पुरुष, ४२ हजार १ सय ४७ जना महिला र अन्य ६ जना मतदाता छन् ।








प्रतिक्रिया राख्नुहोस्