तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने २० जना पक्राउ

रुपन्देही । रुपन्देहीका विभिन्न ठाउँबाट निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको आरोपमा २० जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आचारसंहिताविरुद्ध मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिकाको बुद्धचोकस्थित एक रेष्टुरेण्टका सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै, मायादेवी गाउँपालिकाको गोनाहा चोकस्थित मदिरा पसलबाट ११० बोतल मदिरा नियन्त्रणमा लिएको छ ।

त्यसैगरी शुद्धोधन गाउँपालिका वडा नम्बर ७ भगलापुर र वडा नम्बर ३ सियाभारबाट रेष्टुरेण्टका सञ्चालक २ जनासहित ११ जनालाई निर्वाचन आचारसंहिता विपरीत मदिरा विक्री वितरण तथा सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

निर्वाचन आचारसंहिता विपरीत गर्ने व्यक्तिहरूलाई निरन्तर निगरानी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button