मतदानका लागि इलाम सदरमुकामबाट गाउँ फर्किनेको भीड
इलाम I प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मतदानका लागि इलाम सदरमुकामबाट गाउँतर्फ जाने मतदाताको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

स्थायी ठेगाना गाउँमा रहेकाले सदरमुकाममा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित वडाहरूमा फर्किन थालेका हुन्।
बिहानैदेखि सदरमुकामका विभिन्न चोक तथा बसपार्क क्षेत्रमा गाउँ जाने यात्रुको भीड देखिएको थियो। निजी सवारी साधन, रिजर्भ जिप, माइक्रोबस तथा मोटरसाइकलमार्फत मतदाता गाउँ प्रस्थान गरेका छन्। केही स्थानमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेपछि अतिरिक्त गाडीसमेत सञ्चालन गरिएको यातायात व्यवसायीहरूले बताएका छन्।
रोजगारी, अध्ययन तथा व्यवसायका कारण सदरमुकाममा अस्थायी रूपमा बस्दै आएका मतदाता मतदानको दिन नजिकिँदै जाँदा गाउँ फर्किएका हुन्। “आफ्नो मत आफैँले हाल्नुपर्छ भन्ने जिम्मेवारी बोध भएर गाउँ जाँदैछौं,” एक मतदाताले बताए। उनीहरूका अनुसार लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउनु गर्वको विषय भएको बताएका छन्।
जिल्ला प्रशासन तथा निर्वाचनसँग सम्बन्धित निकायले मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरेको जनाएको छ। सुरक्षाकर्मीहरूलाई रणनीतिक स्थानमा परिचालन गरिएको छ भने मतदान केन्द्रहरूमा आवश्यक सामग्री पुर्याइसकिएको छ।
सदरमुकामबाट गाउँ फर्किने मतदाताको सक्रियताले निर्वाचनप्रति नागरिकको चासो र जिम्मेवारी झल्काएको छ। सम्बन्धित निकायले सबै मतदातालाई निर्धक्क र शान्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।







प्रतिक्रिया राख्नुहोस्