तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा

अर्घाखाँची I अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभएको छ । 

आज रिपोटर्स  क्लब लुम्बिनीले सञ्चालन गरेको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

निर्वाचन मतपेटिका लगायतका सम्पुर्ण सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगिसकेको प्रजिअ सुवेदीले जानकारी दिनुभयो । २ सय ११ मतदान केन्द्रमा सामग्री पुगिसकेको छ । मतदान केन्द्र मध्ये थाई १ सय ९ र २ अस्थायी रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । अस्थायी मतदान केन्द्रमा समानुपातिक मतदान हुने छ ।

मतदान केन्द्रको अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिएकाले भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाकी नराखिएकोले निर्धक्क भएर मतदानमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको सुरक्षा अवस्था बुझ्न अधिकांश ठाउँमा आफूहरू पुगिसकेकाले सुरक्षाको लागि कुनै समस्या नरहेको र मतदाताले ढुक्कका साथ मतदान गर्न सक्ने उहाँको भनाइ छ । निर्वाचन सम्पन्न गर्नको लागि कुल १२ सय ६२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो । मौन अवधिको समयमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका  घटनालाई कम गर्न सूक्ष्म अनुसन्धान गरिएको पाण्डेले बताउनुभयो ।

अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असहाय तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्नुभयो ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा  निर्वाचन प्रहरी परिचालन गरिएको छ । जिल्लामा  १ लाख ७१ हजार ६सय ६२ मतदाता सङ्ख्या रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button