तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता गाउँ फर्किएपछि धनकुटा बजार सुनसान

धनकुटा। केही दिनअघिसम्म भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थी मतदानका लागि गाउँ फर्किएपछि बजारको चहलपहल घटेको हो।

जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी र विभिन्न दलका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहने गर्दथ्यो। अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि आएका विद्यार्थी र व्यापार–व्यवसाय तथा रोजगारीका सिलसिलामा आएका व्यक्तिहरू सदरमुकाममै बसोबास गर्दै आएका थिए।

सोमबारदेखि बजार चकमन्न देखिन थालेको छ। बजार सुनसान हुँदा सोमबार होलीको रौनकसमेत देखिएन। निर्वाचनको माहोल सुरु भएसँगै बजारमा बस्ने अधिकांश नेता–कार्यकर्ता र विद्यार्थी गाउँ फर्किएका छन्। निर्वाचनमा खटिएका कर्मचारी मतदान केन्द्रमा खटिएपछि बजार थप सुनसान बनेको छ।

हाल नागरिकको चाप उल्लेख्य रूपमा घटेको छ। सदरमुकामका धेरै होटल तथा पसल बन्द हुन थालेका छन्। मतदानका लागि नागरिक आ–आफ्ना केन्द्रमा पुगेपछि गाउँघर भने भरिभराउ भएका छन्।

व्यापारिक केन्द्रका रूपमा परिचित धनकुटा बजारमा भोजपुर, संखुवासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्ला तथा तराईका केही जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थी आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button