मधेश प्रदेशका सभामुख यादव महामूर्खको उपाधिबाट सम्मानित
जनकपुरधाम । होरी पर्वको अवसरमा मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको “महामूर्ख”को उपाधि मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवलाई प्रदान गरिएको छ ।

जनकपुरधामको जानकी मन्दिर परिसरमा आयोजना गरिएको दुई दिने होरी महोत्सव तथा महामूर्ख सम्मेलन अन्तर्गत आज आयोजना गरिएको महामूर्ख सम्मेलनमा सभामुख यादवलाई सो उपाधि प्रदान गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका तथा जनक मन्दिरको सह–आयोजनामा कार्यक्रम भएको छ ।
सभामुख यादवले पत्रकारिता, शिक्षा, सरसफाई तथा विद्यालय बाहिर भएका विद्यार्थीहरूलाई आकर्षित गर्नमा योगदान गर्नुभएकोमा महामूर्खको उपाधिले सम्मानित हुनुभएको हो । सभामुख यादवलाई मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्व अध्यक्ष प्रमेश झा, सुनिल मिश्र लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा आधुनिक शिक्षामा योगदान दिए बापत राकेश कर्णलाई वैशाखानन्द, मैथिली अभियानी विभा झालाई तिलविखनी, कानून व्यवसायी विपिन कुमार झालाई लवरसट्का, पत्रकार एवं साहित्यकार हिमांशु चौधरीलाई जी हजुरिया सम्मानले सम्मानित गरिएको छ ।
कवि एवं साहित्यकार गिम्बर झा दिनमणिलाई पोना पण्डित, शिक्षासँगै संस्कार दिने नीजि विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई पटमूर्ख, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख अञ्जु पाण्डेलाई मनतोरिया, न्युरो सर्जन डा. विजय राउतलाई विसखोपडा, उद्योगपति प्रदीप चौधरीलाई तरघुस्ताले सम्मानित गरिएको छ ।
महामूर्ख सम्मेलनमा ह्यान्डबलका खेलाडी पवन कर्णलाई बज्रकिट, सुन व्यवसायी पवन ठाकुरलाई डपोरशंख, मिथिला चित्रकार राजकुमारी मण्डललाई तरघुस्की, युवा लव अधिकारीलाई लोढाशंकर तथा नेपाल टेलिभिजनका मैथिली समाचार वाचक दीपक कर्णलाई लम्बोदर सम्मानले सम्मानित गरिएको छ ।
कार्यक्रममा बोल्दै सभामुख रामआशिष यादवले महामूर्खको उपाधिले सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै मिथिला नाट्यकला परिषद्ले मिथिलाको कला, संस्कृति र संस्कारलाई जीवन्त राखेकोमा खुशी व्यक्त गर्नुभयो ।
महामूर्ख सम्मेलनमा दिगम्बर झा दिनमणि, पुनम झा मैथिल, पत्रकार सन्तोष कर्ण, विजयदत्त मणि सहितका कविहरूले होरीमा आधारित कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले दोकान नाटक क्षणिकाका साथै विभिन्न प्रकारका होरीका गीतहरू गाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्