पोखरामा पनि भोलि होली उत्सव नहुने
पोखरा । पर्यटनको राजधानी पोखरामा यस वर्ष सार्वजनिक रूपमा होली उत्सव नहुने भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता कार्यान्वयनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले खुला सडक तथा सार्वजनिक स्थानमा होलीका नाममा हुने भिडभाडयुक्त कार्यक्रम नगर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गर्दै फागुपूर्णिमा (होली) पर्व सभ्य, मर्यादित र घर परिसरभित्र मनाउन अनुरोध गरेको हो । निर्वाचन सम्पन्न नभएसम्म खुला स्थानमा ‘डिजे कार्यक्रम’, ‘कलर फेस्ट’, ‘होली कन्सर्ट’ लगायतका कार्यक्रम गर्न अनुमति नदिइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
यसैबीच, विगतका वर्षहरूमा लेकसाइड क्षेत्रमा आयोजना हुँदै आएको ‘होली महोत्सव’ यस वर्ष स्थगित गरिएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार प्रशासनको आग्रह र निर्वाचनको संवेदनशीलतालाई सम्मान गर्दै कार्यक्रम नगर्ने निर्णय गरिएको हो ।
त्यस्तै, फेवाताल किनारको बाराहीघाट चौरमा आयोजना हुँदै आएको बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ पनि यस वर्ष नहुने भएको छ । प्रचार नेपाल का सञ्चालक आशिष पुरीका अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण कार्यक्रम स्थगित गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्