तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा निर्वाचन सुरक्षाको लागि २३८९ सुरक्षाकर्मी परिचालन

रोल्पा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन रोल्पा जिल्लामा कुल २ हजार ३ सय ८९ जना सुरक्षाकर्मी २ वटा अस्थायी मतदान केन्द्र, १८० वटा स्थायी मतदान केन्द्र र ८६ वटा मतदान स्थलमा परिचालन गरिएको छ । 

जिल्ला सुरक्षा समितिको समन्वयमा सुरक्षा निकायहरूले मतदान केन्द्रदेखि मतगणना स्थलसम्म व्यापक सुरक्षा प्रबन्ध मिलाइसकेका छन् ।

सुरक्षा योजनाअनुसार १ हजार २९ जना म्यादी (निर्वाचन) प्रहरी, ६१० जना नेपाल प्रहरी, ३ सय जना सशस्त्र प्रहरी बल नेपाल र ४५० जना नेपाली सेना परिचालन भएका छन् सबै सुरक्षा निकायबीच समन्वयात्मक ढंगले गस्ती, चेकजाँच र सूचनाको आदान–प्रदानलाई तीव्र बनाइएको छ ।

जिल्लाका सबै मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी आवश्यक जनशक्ति खटाइएको छ भने दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रहरूमा थप सतर्कता अपनाइएको छ । मतदान सामग्रीको सुरक्षित ढुवानी र भण्डारणका लागि पनि विशेष व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको संयोजकत्वमा बसेको बैठकले निर्वाचन अवधिभर कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन निगरानीमा कडा पार्ने निर्णय गरेको छ ।  मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गर्दै कुनै पनि अफवाहमा नलाग्न र शङ्कास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।

सुरक्षा संयन्त्रले रोल्पामा निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button