तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा मदिरा विक्रीमा रोक

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले धनकुटामा मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटाले शुक्रबार सूचना जारी गर्दै आगामी २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा जन्य पदार्थ विक्रीमा रोक लगाएको हो । 

गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार निर्वाचनभन्दा ७ दिन अगाडि अर्थात् मिति फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर घरेलु मदिरा उत्पादन, सबै प्रकारका मादक पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिबन्धको अवज्ञा गरी मदिरा उत्पादन, बिक्री वा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उहाँले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित व्यवसायी, होटल तथा रेस्टुरेन्ट सञ्चालक तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ । सुरक्षा निकायहरूबाट यसको कडाइका साथ अनुगमन गरिने समेत जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button