तपाईँ सुन्दै हुनुहुन्छः

बाल व्यवसायी केन्द्र माविलाई देशभरको समावेशी शिक्षा स्रोत केन्द्रको रुपमा विकास गरिने 

काठमाडौँ । काठमाडौँको सिफलमा रहेको बाल व्यवसायी केन्द्र माविलाई देशभरको समावेशी शिक्षा स्रोत केन्द्रको रुपमा विकास गरिने भएको छ ।

विद्यालयको ५४ औ वार्षिकोत्सवको अवसरमा मङ्गलवार विद्यालयमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख नवराज ढकालले बाल व्यवसायी केन्द्र माविलाई देशभरको समावेशी शिक्षाको स्रोत केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । 

उहाँले बाल व्यवसायी केन्द्र मावि समावेशी शिक्षाको क्षेत्रमा उदाहरणीय कार्य गरेर महानगर भित्रको नमूना विद्यालयको रुपमा विकास भएकोले त्यसलाई महानगरले देशभरकै समावेशी शिक्षाको स्रोत केन्द्रको रुपमा विकास गर्न आवश्यक भएको बताउनुभयो । 

यस वर्ष मात्र महानगरले सो विद्यालयलाई पूर्वाधारको विकासको लागि एक करोड बजेट उपलब्ध गराएको र त्यसबाट सामुदायिक विद्यालयमा पहिलोपटक बाल व्यवसायी केन्द्र माविमा लिफ्ट जडान गरी विद्यार्थीलाई सहज सेवा प्राप्त हुने र समावेशी शिक्षाको प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ७ का अध्यक्ष विमल कुमार हाडाले बाल व्यवसायी केन्द्र माविलाई समावेशी शिक्षाको स्रोत केन्द्रको रुपमा विकास गर्ने योजना महानगरको रहेको बताउनुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाले विद्यालयलाई शारीरिक, बौद्धिक तथा अपाङ्गता भएका विद्यार्थीहरू दृष्टिविहीन र अटिजम भएका विद्यार्थीहरूलाई अत्याधुनिक सेवा सुविधासहित पठनपाठनको व्यवस्था गरिएको र विद्यालयलाई छोटो समयमा काठमाडौँ महानगर भित्रको नमूना विद्यालयको रुपमा विकास गरिएको उल्लेख गर्नुभयो । 

सो विद्यालयमा हाल १८ जना श्रवण र दृष्टिविहीन, १९ जना पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिविहीन, अटिजम, बौद्धिक तथा बहु अपाङ्गता भएका तथा ४२ जना मध्यम प्रकृतिका सुस्त श्रवण, न्यून दृष्टियुक्त र मनोसामाजिक अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत रहेका छन् । सो विद्यालयमा विभिन्न वर्ग, समुदाय र भूगोलका प्रारम्भिक बाल कक्षादेखि कक्षा १० सम्म ४२७ विद्यार्थीहरूले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । 

समारोहमा उत्कृष्ट शिक्षक, विद्यार्थीहरू तथा चन्दा दाताहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । समारोहको दोस्रो शत्रमा विभिन्न क्षमता भएका विद्यार्थीहरूले आआफ्नो कला समेत प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button