तपाईँ सुन्दै हुनुहुन्छः

‘अब कसैले बुथ कब्जाको कल्पना नगरे हुन्छ’

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले चुनावमा बुथ कब्जा गर्ने कल्पना नगरे हुने बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ को दमकमा आज कोशी नेशनल भोलिन्टियर्स फोर्स घोषणा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जा गर्न नदिइने बताउनुभयो । ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने छुट दिइने छैन,’ ओलीले भने, ‘कसैले बुथ कब्जा गर्न पाउने पनि छैन ।’

त्यसका लागि भोलिन्टियर्स फोर्स गठन गरिएको उहाँको भनाइ थियो । उहाँले हरेक बुथमा भोलिन्टियर्स राखिने बताउनुभयो । 

प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उहाँको भनाइ थियो । उहाँले टोलटोलमा भोलेन्टियर्स फोर्स गठन गर्न निर्देशन दिँदै यसका लागि पार्टीले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । 

एमालेले आफ्नो नेतृत्वमा देशका धेरै विकासका काम गरेको अध्यक्ष ओलीले दाबी गर्नुभयो । उहाँले देशको जुनसुकै कुनामा गए पनि एमालेले के गर्‍यो भनेर सोधे जवाफ पाइने बताउनु भयो । उहाँले भन्नुभयो– ‘जहाँ उभिएको छ, त्यो ठाउँबाट हेरे एमालेले गरेको विकास सजिलै देखिन्छ ।’

अध्यक्ष ओलीले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्मका लागि एमालेले नागरिकका पक्षमा काम गरेको दाबी गर्दै किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएकाहरूको पक्षमा एमालेले काम गरेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button