तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाका अध्यक्ष दाहालले गर्नुभयो निर्माणाधीन संसद् भवनको अवलोकन

काठमाडौँ I राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गर्नुभएको छ । 

अध्यक्ष दाहालसहित, शहरी विकासमन्त्री प्रा.डा. कुमार इङ्नाम, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेसहितका पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको आज अवलोकन गर्नुभयो । 

अवलोकनका क्रममा प्रतिनिधिसभा निर्वाचनपछि बैठक बस्ने ठाउँको अरू विकल्प नभएकाले जसरी पनि निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।

अवलोकनका क्रममा त्यसैगरी शहरी विकासमन्त्री प्रा.डा. कुमार इङ्नामले आगामी चैत १ गते कम्तीमा पनि प्रतिनिधिसभा, सेन्टर, लवी र चमेनागृह मात्रै भए पनि हस्तान्तरण गर्ने गरी तीव्र रुपमा  फिनिसिङको काम भइरहेको जानकारी दिनुभयो ।

नयाँ बानेश्वरस्थिति संसद् भवनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले क्षति पुगेपछि निर्वाचनपछि नयाँ संसद् बैठक निर्माणाधीन भवनबाट सञ्चालन गर्ने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

नयाँ संघीय संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक २०८२ पुस १६ गतेसम्म म्याद थपिएको थियो  ।

संघीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी विभिन्न १२ वटा ब्लकसहितको नयाँ संसद् भवन  निर्माण अन्तिम चरणमा पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button