रुपन्देहीमा मतदाता शिक्षालाई अघि बढाइयो
रुपन्देही । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासनले यसको तयारीसँगै राजनीतिक दललाई आचारसंहिता कार्यान्वयनसँगै मतदाता शिक्षालाई अघि बढाएको छ ।
फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको र निर्वाचन तयारीसँगै आचारसंहिता कार्यान्वयनलाई पनि प्राथमिकतामा राखिएको निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन आयोग नेपालको कार्य तालिकाअनुसार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले मतदान सामग्री व्यवस्थापनदेखि जनशक्ति परिचालनसम्मका काम द्रुतगतिमा अघि बढाएको जानकारी दिनुभयो । जिल्लामा रहेका २०९ मतदान स्थल र ७३२ मतदान केन्द्रमा समयमै सामग्री पुर्याउन रुजु तथा प्याकेजिङको काम भइरहेको उहाँको भनाइ छ ।
मतदान केन्द्रमा खटाइने जनशक्तिको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ भने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गर्ने तयारी समेत गरिएको छ ।
रुपन्देहीमा फागुन ३ गतेदेखि १७ गतेसम्म मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।
निर्वाचन तयारीसँगै आचारसंहिता पालना गराउने विषयलाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।
आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी नै रद्द गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आयोग ऐन, २०७३ मा भएका प्रावधानलाई निर्वाचन आचारसंहिता २०८२ मा समेटेर कडाइका साथ कार्यान्वयन गरिने आयोगको भनाइ छ ।
जिल्लामा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतको संयोजकत्वमा ७ सदस्यीय जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको छ ।
हालसम्म जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट फोन, सामाजिक सञ्जाल तथा लिखित रूपमा करिब ३५ वटा उजुरी परेको समितिका अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । प्राप्त उजुरीहरू गम्भीर प्रकृतिका नभई सामान्य उल्लङ्घनसँग सम्बन्धित रहेको र प्राप्त सबै उजुरी फर्छ्यौट गरिसकिएको र छिटफुट घटनाबाहेक गम्भीर उल्लङ्घन नभएको उहाँले स्पष्ट पार्नुभयो । आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिता पालनामा निगरानी थप कडा बनाइएको जनाएको छ ।
आयोगले यहाँ क्रियाशील रहेको सबै राजनीतिक दल तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरू बीच आचारसंहिताको कार्यान्वयनका विषयमा सामूहिक प्रतिबद्धता गराएको प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्