वर्तमान अवस्थामा गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचना प्रविधिको विकासले पत्रकारितामा सङ्ख्यात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएकाे छ ।
राससको ६५औँ वार्षिकोत्सवको अवसरमा आज राससमा आयोजित विशेष समारोहमा बाेल्दै उहाँले उक्त चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै व्यावसायिक आचरणलाई परिष्कृत, परिमार्जित गर्दै जाेड दिनुभयो ।
उहाँले विगत ६५ वर्षमा राससले सत्य, निष्पक्षता र तटस्थताको सिद्धान्तलाई आत्मसात गर्दै आमनागरिकलाई निरन्तर सूचित गर्दै आएको उल्लेख गर्नुभयो । “राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षहरूको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएको र यसमा राससको भूमिका अझ बढी महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “आग्रह र पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रूपान्तरित सोचका साथ अघि बढ्दै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानता र सुशासनको पक्षपोषणमा यो संस्था खरो उत्रिन सक्नु पर्दछ ।”
उपराष्ट्रपति यादवले लोकतन्त्रको प्रारम्भबाटै मिडियाले जनतालाई जागरूकता प्रदान गर्दै आएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई जीवन्त बनाइन राख्न सञ्चार माध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । “अझ बढी राससले निष्पक्ष रुपमा सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक घटनाहरूको विश्लेषण गर्न सक्दछ । सरकारी स्वामित्वमा रहेकाले यस संस्थाले सरकारी नीतिहरूको विषयमा एउटा समझदारी विकसित गर्दै राष्ट्रको विकासमा तीव्रता प्रदान गर्न सक्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।
यस संस्थाले नेपाल भाषा, अवधि, मैथिली भाषासहित विभिन्न मातृभाषामा सामग्री उत्पादन सुरु गरेर समावेशिता र विविधताको सम्मान गरेकामा प्रशंसा गर्नुभयो । “यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन र नागरिक अपनत्व बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ”, उहाँले भन्नुभयो ।
उपराष्ट्रपति यादवले निराशा, कुन्ठा र नकारात्मकताले गाँजिएको समाजमा सकारात्मकता पक्षपोषणको मियो बन्ने जिम्मेवारी पनि राससकै काँधमा रहेको उल्लेख गर्नुभयो ।
राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जबाफदेहिता आत्मसात गर्दै यस संस्थाले देश विकासमा दत्तचित्त भई अगाडि बढ्न सबैलाई प्रेरित गर्न सक्ने विषयवस्तुमा जोड दिन सक्नुपर्नेमा जोड दिनुभयो । राससले मुलुकको उन्नति, प्रगति र समृद्धिको यात्रामा आफ्ना सामग्रीमार्फत पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भनी उहाँले शुभकामना दिनुभयो ।
उपराष्ट्रपति यादवले भन्नुभयो, “राससले मनाउँदै गरेको यो वार्षिकोत्सव अतीतलाई प्रतिबिम्बित गर्ने र भविष्यको रूपरेखा कोर्ने अवसर एवं संस्थाको सफलता र प्रगतिको समीक्षा गर्ने महत्वपूर्ण मौका हो । यस अवसरमा यस संस्थाले आफ्ना सकारात्मक पक्षलाई अँगाल्दै विगतका कमी कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ ।”








प्रतिक्रिया राख्नुहोस्