प्रजातन्त्र दिवसमा इलाममा नमुना मतदान अभ्यास
इलाम । प्रजातन्त्र दिवस तथा दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान सम्पन्न गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला प्रशासन कार्यालय इलाम र मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामको संयुक्त आयोजनामा भएको कार्यक्रममा ८० जनाले नमुना मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ मतदानको अभ्यास गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
नमुना मतदानका क्रममा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई मतदानमा कसरी सहयोग गर्ने, मतदानका बेला उत्पन्न हुन सक्ने विवादलाई कसरी समाधान गर्ने लगायत विषयमा अभ्यास गराइएको थियो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख देवीचरण फुयाँलका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता व्यवस्थापन, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधि समन्वय तथा निर्वाचन कर्मचारी परिचालनको नमुना अभ्यास गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्