तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि ६ सय ४८ कर्मचारी परिचालन

जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६ सय ४८ जना कर्मचारी परिचालन गरिएको छ। कुल ६ सय ५४ जना कर्मचारी खटिनुपर्ने भए पनि दुई वटा अस्थायी मतदान केन्द्रका लागि आवश्यक ६ जना कर्मचारी अझै परिचालन हुन बाँकी रहेको जनाइएको छ । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा १ सय ८ जना मतदान अधिकृत, १ सय ८ जना सहायक मतदान अधिकृत, १ सय ८ जना सहयोगी र ३ सय २४ जना अन्य कर्मचारी परिचालन गरिएको छ ।

उनले कर्मचारी खटनपटन समानुपातिक र पारदर्शी ढङ्गले गरिएको बताउँदै निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक निर्देशन जारी गरिएको जानकारी दिनुभयो । यस निर्वाचनमा १ सय १८ जना महिला कर्मचारी परिचालन गरिएको छ । जसमा ७ जना मतदान अधिकृत र २६ जना सहायक मतदान अधिकृत महिला रहेका छन् । जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा भने पूरै महिला कर्मचारी मात्र परिचालन गरिएको छ । 

सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार उक्त केन्द्रमा सुर्खेत–जुम्ला उच्च अदालतका शाखा अधिकृत सुशीला पाण्डे र डिभिजन वन कार्यालयकी सहायक मतदान अधिकृत  विस्मिता अर्याल को नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।

स्थानीय कर्मचारीलाई फरक मतदान केन्द्रमा खटाइने व्यवस्था गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक दुर्गमता र दूरीका आधारमा सेवा सुविधा प्रदान गरिने जनाइएको छ । यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारी परिचालन गरिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । निर्वाचनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले १ हजार ४ सय ९९ जना कर्मचारी छनोट गरी पठाएकोमा आवश्यकताअनुसार ६ सय ५४ जना मात्र परिचालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button