‘सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न प्रसारणलाई आधुनिक प्रविधिसँग जोड्नुपर्छ’
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले आज शुभकामना आदानप्रदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय रेडियो दिवस मनाएको छ ।

रेडियो नेपाल सिंहदरबार कार्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा तालिम समापन कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सत्य र तथ्यपूर्ण सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न रेडियो प्रसारणलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
विपद्को समयमा रेडियोको भूमिका थप महत्वपूर्ण र सान्दर्भिक रहने उल्लेख गर्नुहुँदै अध्यक्ष विष्टले जस्तो सुकै विपद्को समयमा समेत छिटो–छरितो रुपमा सूचना दिन सक्ने गरी रेडियो सधैँ तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समिति सदस्य अनिता गुरुङले पहुँच र लोकप्रियताका आधारमा रेडियो अन्य सञ्चारका माध्यमहरू भन्दा सशक्त माध्यम भएको उल्लेख गर्नुहुँदै समयको पदचाप चिनेर आगामी दिनमा रेडियो पनि नयाँ प्रविधिहरूका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले नयाँ पुस्तामा रेडियोको लोकप्रियता बढाउन नयाँ प्रविधिको प्रयोग र प्रसारण सामग्रीमा थप विविधता ल्याउन जोड दिनुपर्ने बताउनुभयो ।

यसैबीच रेडियो नेपालमा सञ्चालन भएको सार्वजनिक खरिद सम्बन्धी आधारभूत तालिम पनि आज समापन भएको छ ।

तीन दिनसम्म चलेको तालिममा सार्वजनिक सेवा प्रसारण नेपाल अन्तरगतका विभिन्न कार्यालयमा कार्यरत ३४ जना कर्मचारी सहभागी हुनुभएको थियो ।













प्रतिक्रिया राख्नुहोस्