सातौँ झापा गोल्डकप : एफीएफ फाइनलमा प्रवेश
झापा । टाई ब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रङ्गशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एपीएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफले कम ब्याक जीत हासिल गरेको हो । जीतसँगै एपीएफले कम्तीमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
एपीएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बुले रोकेका थिए ।
झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।
खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लिएको थियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गरेका थिए ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपीएफका स्ट्राइकर नवीन लामाले ६७ औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
भोलि शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबिच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्