तपाईँ सुन्दै हुनुहुन्छः

जातीय विभेद गर्नेलाई ‘नो भोट’ अभियान

काठमाडौँ । दलित अधिकारकर्मीहरूले जातीय विभेद गर्ने उम्मेदवार वा कुनै पनि दललाई आसन्न निर्वाचनमा ‘नो भोट’ अभियान सुरु गर्ने भएका छन् । दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानअन्तर्गत आज पत्रकार सम्मेलन गरेर दलित अधिकारकर्मीहरूले यस्तो जानकारी गराएका हुन् । 

दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) ले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनलाई दलितमैत्री बनाउनका लागि दलित नागरिक सङ्घ सङ्गठन, पत्रकार, बुद्धिजीवी, अधिकारकर्मी र दलित अभियन्ताहरूले दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान सुरुआत गरेको जानकारी दिएको छ ।

अभियानका तर्फबाट सबै राजनीतिक दललाई घोषणापत्रमा समावेश गरिनुपर्ने दलित सवालबारे सुझावसमेत हस्तान्तरण गरिएको डिएनएफका अध्यक्ष जेबी विश्वकर्माले जानकारी दिनुभयो । उहाँले दलितले मतदान गर्न पाउने नैसर्गिक अधिकारलाई प्रोत्साहन गर्ने र विभेद गरिरहेका कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भने मानवताका आधारमा समेत ‘नो भोट’ अर्थात् मतदानमा बहिस्कार गर्ने बताउनुभयो । 

“समाजमा जसले विभेद गरेको छ त्यस्तो अमानवीय आचरण बोकेको व्यक्ति वा दललाई कसरी भोट हाल्ने?”, अध्यक्ष विश्वकर्माले प्रश्न गर्दै भन्नुभयो, “यस्ता खराब संस्कार बोकेका व्यक्तिविरुद्ध नो भोट अभियान थाल्ने र सही नेतृत्व चयन गर्ने अभियान सुरु गरेका छौँ ।”

नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्माले दलित तथा सीमान्तकृत समुदायका मतदातालाई यतिबेला कसलाई र कसरी भोट दिने भन्ने शिक्षाको जरुरी रहेकाले अभियानमार्फत देशभर पुग्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी कमला हेमचुरीले प्रतिनिधिसभाको निर्वाचनमा सीमान्तकृत समुदायका मुद्दा जुन पार्टी वा उम्मेदवारले बढी उठान गरेको छ उसैलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । दलित समुदायको समानताको पक्षमा हुनेछ भन्ने सन्देश पु¥याउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

डिएनएफका उपाध्यक्ष सुशील विकले दलितका मुद्दालाई प्राथमिकतामा राख्न अभियानले लामो समयदेखि राजनीतिक दल र उम्मेदवारसँग छलफल गर्दै आएको बताउनुभयो । घोषणापत्रमा दलितका मुद्दा उठे पनि कार्यान्वयनसम्म पुग्दा फितलो हुने परिपाटीविरुद्ध अभियान निरन्तर जारी राख्ने उहाँले प्रष्ट पार्नुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button