डिजिटल पूर्वाधार सुधारका लागि विश्व बैंकले ५ करोड अमेरिकी डलर लगानी गर्ने
काठमाडौँ । नेपालको डिजिटल पूर्वाधार सुधार र सार्वजनिक सेवाको डिजिटलीकरणका लागि ५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।

विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले लगानी सम्बन्धी प्रस्ताव स्वीकृत गरेको विश्व बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त रकम नेपाल डिजिटल रूपान्तरण परियोजना अनुसार एकीकृत अनलाइन नागरिक सेवा पोर्टल र एकीकृत सामाजिक दर्ताजस्ता डिजिटल प्लेट फर्ममा लगानी गरिने विश्व बैंकले जनाएको छ ।
लगानी हुने रकम सुरक्षित सरकारी डेटा एक्सचेन्ज र डिजिटल लकर सुविधामा डिजिटल वालेट र अन्य महत्वपूर्ण कागजातको व्यवस्थापनमा समेत खर्च हुनेछ ।
यो परियोजनाले चरणबद्ध रुपमा सरकारी सेवालाई डिजिटल बनाउन मद्दत गर्ने, डेटा पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउने र कानुनी तथा नियामकीय अवधारणामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
डिजिटल अर्थतन्त्रप्रतिको विश्वास बढाउन यो परियोजनाले इलेक्ट्रोनिक हस्ताक्षर, साइबर सुरक्षा र डेटा प्रशासनमा पनि लगानी गरिने छ ।
विश्व बैंकले गर्ने लगानीले छिटोछरितो सेवा, सार्वजनिक दक्षता र असल शासनमा सुधार ल्याउने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि डिभिजन डिरेक्टर डेभिड सिसलेनले बताउनुभयो ।
यो परियोजना फुल म्युचुअल रिलायन्स फ्रेमवर्कअन्तर्गत विश्व बैङ्क र एसियाली विकास बैङ्कको सह लगानीमा रहने गरी व्यवस्थापन गरिएको छ । यसमा सबैभन्दा धेरै लगानी विश्व बैङ्कको हुनेछ, कार्यान्वयन भने सञ्चार एवं सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्