तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ झापा गोल्डकप : आयोजक सेमिफाइनलमा

झापा । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाई ब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाई ब्रेकरबाट गरिएको थियो । टाई ब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टाई ब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्यो । झापाका आधा दर्जन प्रहार खेर गएको थियो । झापाले खेलको २८ औँ मिनेटदेखि विपक्षीमाथि दबाब सिर्जना गर्न सुरु गरेको थियो । झापाका विदेशी खेलाडी ओलावाले अफिजले डिबक्सबाट गरेको पावरफुल प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले विफल बनाए ।

३८ औँ मिनेटमा झापाका समिर तामाङले गरेको प्रहार सिङलिङका गोलकिपरले बचाए । ४९ औँ मिनेटमा गोलकिपर बिट भइसकेपछि उनै समिर गोल गर्न चुके । उनको हेडर बाहिरिएको थियो । निर्धारित ९० मिनेटको अन्ततिर मौसम सुब्बाले डिबक्सबाट गरेको प्रहारलाई गोलकिपरले पञ्च गरेर बचाए ।

खेलको ५९ औँ मिनेटमा सिङलिङका कप्तान उत्तम राईले झापाका गोलकिपरसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । सिङलिङले विपक्षी पोस्टमा खासै अवसर सिर्जना गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि मङ्गलवारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबिच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button