तपाईँ सुन्दै हुनुहुन्छः

गिडिखोला जलविद्युतबाट ३ हजार घरधुरीमा बिजुली

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ४ स्थित गिडिखोला जलविद्युत आयोजना सञ्चालनपछि करिब ३ हजार घरधुरी बत्तीको पहुँचमा पुगेका छन् । विगतमा अँध्यारोमै रात कटाउन बाध्य तातोपानीका ३ हजार घरधुरीमा २४ सै घण्टा बत्तीको पहुँच विस्तार भएको हो । 

२१४ किलोवाट क्षमताको गिडिखोला जलविद्युत आयोजना सञ्चालनमा आएसँगै तातोपानी गाउँहरू झिलिमिली भएका छन् । ५÷६ वर्ष पहिला सम्म बत्ती अभाव र लोडसेडिङको मारले क्यान्डिल जुलुस गर्ने जुम्ला बासी अहिले २४ सै घण्टा बत्ती बाल्न पाएपछि निकै खुसी छन् ।

गिडिखोला जलविद्युत आयोजनाको बत्ती तातोपानीका ८ वटा वडामध्ये ६ वटा वडाका डेढ दर्जन बढी गाउँ र चन्दननाथ नगरपालिका ३ वटा वडाका दर्जन बढी गाउँमा नियमित विधुत प्रवाह भइरहेको छ । आयोजना सञ्चालनको सुरुवाती चरणमा तातोपानी गाउँपालिकामा मात्रै बत्ती प्रवाह भईरहेपनि विगत एक वर्ष यता चन्दननाथ नगरपालिकाका वडा नं ८,९ र १० का गाउँलाई पनि तातोपानीले बत्ती दिएको छ ।

तातोपानीसँग सीमा जोडिएका र बत्तीको समस्या झेलिरहेका चन्दननाथका ३ वटा वडाका गाउँमा पनि नियमित बत्ती सञ्चालित छ । गिडिखोला जलविद्युत आयोजना १० करोड लगानीमा निर्माण भएको हो । उक्त आयोजना निर्माणका लागि तातोपानीका स्थानीयले सेयर लगानी पनि गरेका छन् । न्यूनतम ५ हजार देखि अधिकतम् २० हजार सम्म स्थानीयको सेयर छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button