रौतहटबाट लुम्बिनीसम्म अन्तर्राष्ट्रिय भिक्षुहरूको शान्ति यात्रा
रौतहट। विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित थाइल्यान्डका भिक्षुहरूको सहभागितामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म पैदल ‘महान् धम्म यात्रा’ सुरु हुने भएको छ ।

थाइल्यान्डका २२ जना भिक्षुहरू भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरी माघ २७ गतेदेखि रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट लुम्बिनीतर्फ पैदल यात्रामा निस्कने कार्यक्रम रहेको छ । ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने नारासहित सञ्चालन हुने उक्त यात्रामा थाइल्यान्ड, लाओस, भारत र नेपालका गरी २८ जना भिक्षु तथा सहभागी रहनेछन् ।
वाट थम्पायल बिहार, थाइल्यान्डका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सुरु हुने महान् धम्म यात्रा चन्द्रपुरस्थित गोल्माराजा बुद्ध बिहारबाट प्रस्थान गरी लुम्बिनी र कपिलवस्तुसम्म पुग्नेछ । गोल्माराजा बुद्ध बिहार, चन्द्रपुर–१ का भन्ते मेधकर स्थविरका अनुसार पैदल यात्रीहरू फागुन १० गते भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा धम्म यात्राको लुम्बिनी पुग्दासम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको थियो । आयोजक पक्षले शान्ति, सहअस्तित्व र मानवीय एकताको सन्देश विश्वभर फैलाउने यस अभियानमा सबैको सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्