तपाईँ सुन्दै हुनुहुन्छः

बुढासुब्बा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

धरान (सुनसरी) । चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

यहाँको धरानस्थित रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । 

चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि सोही गोल नै निर्णायक बन्यो ।

आजको खेलमा चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रताप तामाङले बताउनुभयो । 

सोमबार आयोजक धरान फुटबल क्लब र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगितामा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । 

यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५÷२५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button