नरैनापुर गाउँपालिकाद्वारा आफ्नै पहिचाने झल्कने लोगो सार्वजनिक

बाँके । बाँकेको पूर्वी क्षेत्रस्थित नरैनापुर गाउँपालिकाले आफ्नै सांस्कृतिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक पहिचान झल्कने लोगो तयार गरी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। गाउँ कार्यपालिकाको बैठकबाट लोगो पारित भएसँगै कार्यान्वयन सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो।
अध्यक्ष शाहका अनुसार गाउँपालिकाको बहुसांस्कृतिक पहिचान, धार्मिक सहिष्णुता, प्राकृतिक सम्पदा र स्थानीय जीवनशैलीलाई समेट्ने उद्देश्यसहित लोगो निर्माण गरिएको हो। “नरैनापुरको मौलिकता झल्कने गरी लोगो तयार गरिएको छ, जसले अब पालिकाको छुट्टै पहिचान स्थापित गर्नेछ,” उहाँले भन्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार लोगोमा नेपालको राष्ट्रिय झण्डा, वनजंगल, हिन्दु तथा मुस्लिम समुदायका धार्मिक स्थल, गाई–भैँसी, हरियाली जमिन र गाउँपालिकाको नक्सा समावेश गरिएको छ।
यी सङ्केतहरूले पालिकाको धार्मिक सद्भाव, कृषि र प्राकृतिक सम्पदालाई प्रतिनिधित्व गर्छन्। त्यसैगरी वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले लोगोमा रैथाने बाली, गहुँ तथा विकासको प्रतीकका रूपमा सडक सङ्केत गरिएको जानकारी दिनुभयो। लोगो कार्यान्वयनमा आएसँगै गाउँपालिकाको पहिचान थप प्रष्ट र बलियो बनेको उहाँको भनाइ छ।
लोगो निर्माणका लागि खुला प्रतिस्पर्धा गराई इच्छुक सर्जकहरूबाट डिजाइन सङ्कलन गरिएको थियो। पालिकाका इन्जिनियर प्रबिन श्रेष्ठको नेतृत्वमा अन्तिम रूप दिइएको उक्त लोगो जनमुखी र अर्थपूर्ण रहेको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन्।
स्थानीय तह गठन भएको झण्डै ९ वर्षपछि नरैनापुर गाउँपालिकाले आफ्नै आधिकारिक लोगो सार्वजनिक गरेको हो, जसलाई पालिकाको पहिचान निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्