तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० विश्वकप : इङ्ग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ । 

भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले छ ओभरमा दुवै ओपनर गुमाउँदै ४७ रन बनाएको छ ।टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो । 

इङ्गल्यान्डका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए । त्यसैगरी कप्तान  ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए । 

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई/दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक/एक विकेट झारे । 

नेपालले दुई पटकको च्याम्पियन इङ्गल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । 

नेपालको समूहमा इङ्गल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button