तपाईँ सुन्दै हुनुहुन्छः

इलामका ५५ वटा मतदानस्थल अति संवेदनशील

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा  इलामका ५५ वटा मतदान स्थल अति संवेदनशील सुचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई वर्गीकरण गरी ४८ वटा संवेदनशील र ४७ वटा सामान्य वर्गमा राखिएको इलामका  प्रहरी प्रमुख एसपी कुलदिप चन्दले जानकारी दिनु भएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित  वातावरणमा सम्पन्न गराउन सुरक्षा तयारी मजबुत बनाउन सुरक्षा समितिले मतदान स्थलको स्थलगत अनुगमन कार्य गरिरहेको छ ।

 संवेदनशील देखिएका क्षेत्रमा विशेष सुरक्षा रणनीति तयार गरी आवश्यक स्थानमा  जनशक्ति  थप गरि सुरक्षा तयारी मिलाइएको प्रहरी प्रमुख चन्दले बताउनु भयो ।

निर्वाचन प्रहरीका लागि छनौट भएका  एक हजार नौ सय १३ जना निर्वाचन प्रहरीलाई तालिम भइरहेको छ  । नेपाल प्रहरी तर्फ १  हजार सात सय ३४ जना र सशस्त्र प्रहरीतर्फ एक सय ७९ जना रहेका छन्  । जिल्लाभर ६ स्थानमा तालिम सुरु गरिएको जनाइएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुई क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

क्षेत्र नं १ मा १३ दल र क्षेत्र नं २ मा एक स्वतन्त्र र १३ दलका उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

इलाममा एक सय ५० मतदानस्थलमा दुई सय ९० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुयाँलले बताउनु भएको छ । कार्यालयले निर्वाचनको लागि तीव्र तयारी गरिरहेको फुयाँलले बताउनु भयो । 

यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । यो अघिल्लो प्रतिनिधिसभा निर्वाचन(२०७९ को मतदाता सङ्ख्या भन्दा छ हजार नौ सय ३२ ले बढी हो । अघिल्लो निर्वाचनमा इलाममा दुई लाख २४ हजार आठ सय ७७ मतदाता थिए । जसमध्ये एक लाख १५ हजार नौ सय ५२ पुरुष, एक लाख आठ हजार नौ सय २३ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता थिए ।

क्षेत्र नं १ मा एक लाख १२ हजार तीन सय २० मतदाता रहेका छन् । ५८ हजार छ सय ७३ पुरुष, ५३ हजार ६ सय ४६ महिला र एक जना तेस्रो लिङ्गी मतादाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं २ मा एक लाख १९ हजार चार सय ८९ मतदाता रहेका छन् । ६० हजार नौ सय ७५ पुरुष, ५८ हजार पाँच सय १२ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button