बिर्तामोडमा झापा गोल्डकप आजदेखि सुरु, उद्घाटन खेलमा आयोजक झापा–११ विजयी

भद्रपुर, झापा । झापाको बिर्तामोडस्थित डामालाल राजवंशी रङ्गशालामा आजदेखि साताँै झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण सुरु भएको छ ।
आज भएको उद्घाटन खेलमा आयोजक झापा गोल्डकपको टिम झापा–११ फुटबल क्लब विजयी भएको छ । झापा ११ ले खेलमा कमब्याक गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
१–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस क्लबमाथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए ।
खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।
झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि निर्णायक गोल भने राजेश दाहालले गरे । ५९ औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिए । उनको गोल नै झापाको जितका लागि पर्याप्त बन्यो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिमका राजेश दाहाल भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
प्रतियोगिताको उद्घाटन विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रङ्गशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पत्ति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष स्व. विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्