सल्यान डढेलोको उच्च जोखिममा

सल्यान । सल्लैसल्लाको जिल्लाका रूपमा चिनिने सल्यान डढेलो उच्च जोखिममा रहेको पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा नौ जिल्लालाई उच्च जोखिमयुक्त जिल्लामा राखेको छ । जसमध्ये सल्यान आठौँ स्थानमा रहेको छ ।
सल्यान जिल्ला बन डढेलोको उच्च जोखिममा परेपछि रोकथाम, पूर्व तयारी, प्रतिकार्य तथा पुनः स्थापनाका कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ ।
विगतका वर्षहरूमा बारम्बार देखिएका वन डढेलोका घटनाका कारण सल्यान उच्च जोखिमको सूचीमा परेको हो । विगत १२ वर्षको अवधिमा सल्यान जिल्लामा एक हजार तीन सय दुई वटा वन डढेलोका घटना भएको तथ्याङ्क रहेको छ ।
बन डढेलोको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि डिभिजन बन कार्यालय सल्यानले जिल्ला स्तरीय बन डढेलो व्यवस्थापन कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
डिभिजन बन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काका अनुसार कार्ययोजनाले अन्तिम रूप पाएपछि जिल्लाका विभिन्न वन क्षेत्रमा स्थानीय उपभोक्ता समूह, सामुदायिक वन समूह तथा सरोकारवाला निकायलाई परिचालन गरिनेछ ।
लामो समयदेखि वर्षा नहुनु, बढ्दो तापक्रम र सुक्खा मौसमका कारण जिल्लाका सामुदायिक तथा सरकारी वन क्षेत्रमा आगलागीको सम्भावना बढ्दै गएको छ । विशेषगरी दक्षिणी भेग, वनजंगल नजिकका बस्ती तथा मानव गतिविधि बढी हुने क्षेत्रहरू उच्च जोखिममा रहेको उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय सल्यान कार्यालय प्रमुख टेक बहादुर रावलले बन डढेलो न्यूनीकरणका लागि स्थानीय तह, सामुदायिक बन उपभोक्ता समूह तथा सुरक्षाकर्मीहरूसँग समन्वय बढाइएको बताउनुभयो ।
उहाँका अनुसार बन कार्यालयले जङ्गल क्षेत्रमा आगो नलगाउन, छिटो आगो टिप्ने वस्तु लापरबाहीपूर्वक नफ्याँक्न र डढेलो देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्