बैतडी बस दुर्घटना अपडेट: घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार जारी
डडेल्धुरा । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने करिब ३४ जना घाइते भएका छन्।

पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार अपराह्न करिब ७ः३० बजे सडकबाट झन्डै २०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परेका घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुधा देवकोटाका अनुसार हाल उपचाररत सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ। दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनास्थलमै ६ जनाको मृत्यु भएको हो भने कोटिला स्वास्थ्य चौकीमा उपचारका क्रममा २ जना र डडेल्धुरा अस्पताल ल्याउने क्रममा थप ५ जनाको ज्यान गएको हो।
पाँच जना गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य २५ जनाको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्