तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज सद्भाव र सहअस्तित्वको प्रतीक सहर : नेतृ सुवेदी

बाँके।नेपाली कम्युनिष्ट पार्टीकी स्थायी कमिटी सदस्य तथा तत्कालीन संविधानसभा उपसभामुख पूर्णकुमारी सुवेदीले नेपालगन्ज सद्भाव र सहअस्तित्वको प्रतीक सहर भएको बताउँदै सबै समुदायलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन अपिल गर्नुभएको छ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ को समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालगन्ज बहुभाषा, बहुजाति, बहुधर्म र बहुसंस्कृतिको सहर भएकाले यसको पहिचान जोगाउन सबै नागरिकको साझा भूमिका आवश्यक रहेको बताउनुभयो।

“हिन्दु–मुस्लिम, पहाडी–मधेशी भनेर विभाजन होइन, हामी सबै दाजुभाइ हौँ भन्ने भावना नै नेपालगन्जको शक्ति हो,” सुवेदीले भन्नुभयो।

उहाँले वर्तमान विषम परिस्थितिका बाबजुद पनि निर्वाचन नरोकिने स्पष्ट पार्दै चुनाव सर्छ कि हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो। “चुनाव हुन्छ, सर्दैन। निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” उहाँले भन्नुभयो।

चुनावी अभियानलाई भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिको अभियानका रूपमा अघि बढाइएको उल्लेख गर्दै नेतृ सुवेदीले पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको बताउनुभयो। जनताबीच पुगेर कमजोरी स्वीकार्ने, माफी माग्ने र जनताका दैनिक समस्या बुझेर समाधानमा लाग्ने प्रतिबद्धता पार्टीले लिएको उहाँको भनाइ थियो।

नेपालगन्जको सद्भाव र सामाजिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन नदिने चेतावनी दिँदै उहाँले लोकतान्त्रिक अभ्यास बलियो बनाउन मतदातालाई निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button