निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि अनुसन्धान भइरहेको छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि अनुसन्धान भइरहेको बताउनुभएको छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आज प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले मतपत्र छपाई स्थलको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गरिने बताउनुभयो ।
आचारसंहिता उल्लङ्घन गर्ने केही उम्मेदवारलाई स्पष्टीकरण सोधिएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले केहीले स्पष्टीकरण बुझाइसकेको र यसबारे अध्ययन गरेर आवश्यक निर्णय लिइने बताउनुभयो ।
उहाँले आचारसंहिता कडाइका साथ लागु गरेको जानकारी दिनुहुँदै त्यसको पालना भयो कि भएन भनेर अनुगमन पनि गरिरहेको बताउनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उहाँले केही उम्मेदवारहरू विरुद्ध उजुरी आएको र उहाँहरूलाई स्पष्टीकरण समेत सोधेकोमा केहीले स्पष्टीकरण पठाउनुभएको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले निर्वाचन र मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको बताउँदै सञ्चारमाध्यमहरूले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्री बनाइदिनुपर्ने बताउनुभयो ।
निरीक्षणका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधर, निर्वाचन आयुक्त सगुनसमशेर जबरासहित निर्वाचन आयोगका पदाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्